लघुवित्तको नयाँ युग: प्रविधि, नियमन र सबल आन्तरिक नियन्त्रण:

लघुवित्तको नयाँ युग: प्रविधि, नियमन र सबल आन्तरिक नियन्त्रण

१. पृष्ठभूमि:

नेपालको ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन, गाउँ–गाउँसम्म वित्तीय पहुँच पुर्याउन, खास गरी महिला र सीमान्तकृत समुदायको आर्थिक सशक्तीकरणका लागि लघुवित्त क्षेत्रले ऐतिहासिक भूमिका निभाएको छ। केही वर्ष अघिसम्म वास्तविक बैंकिङ सेवाको पहुँचभन्दा दूर रहेका विपन्न वर्गका लागि भनेर लघुवित्त संस्थाहरू गाउँ–गाउँमा आशाको नयाँ किरण जगाउँदै पुगे। स–सानो बचत संकलन, सहज प्रक्रियाबाट कर्जा लगानी र वित्तीय साक्षरताका माध्यमबाट लघुवित्तले देशका कुना–काप्चामा उद्यमशीलताको बलियो जग बसाल्यो।

तर, समयको गतिसँगै जसरी नेपालमा राजनीतिक पार्टीहरू खुले, त्यसरी नै १०० भन्दा बढी लघुवित्तहरू खुले। जसका कारण अधिकांश लघुवित्तहरूमा सञ्चालनगत, प्रणालीगत र नैतिक चुनौतीहरू पनि बढ्दै गएका छन्। यस्तो परिस्थितिमा लघुवित्त संस्थाहरूले आफ्नो साख जोगाउन, सेवालाई विश्वसनीय बनाउन र वित्तीय सुशासन कायम राख्न आन्तरिक नियन्त्रण प्रणाली (Internal Control System) सबैभन्दा मजबुत बनाउनु पर्ने देखिन्छ। आजको डिजिटल युगमा प्रविधिको उच्चतम प्रयोग र केन्द्रीय बैंकको कडा नियमन नै लघुवित्तलाई सही मार्गमा डोर्याउने मुख्य कडीहरू हुन सक्छन्।

२. आन्तरिक नियन्त्रणको अपरिहार्यता:

आन्तरिक नियन्त्रण भनेको केवल संस्थाको हिसाबकिताब जाँच्ने प्राविधिक काम मात्र होइन; यो त संस्थाको सम्पत्तिको रक्षा गर्ने, वित्तीय प्रतिवेदनहरूलाई तथ्यगत राख्ने र प्रचलित नियमहरूको अक्षरसः पालना गराउने एक स्वचालित आन्तरिक पद्धति हो।

लघुवित्तको कार्यप्रकृति अन्य बैंकहरूको तुलनामा फरक र चुनौतीपूर्ण छ। लघुवित्तका कर्मचारीहरू सिधै केन्द्र बैठकसम्म वा सदस्य नआएमा घरसम्म नै पुगेर स–साना नगद कारोबार गर्छन्। यस्तो अवस्थामा कर्मचारी र सदस्यको मिलेमतो भएमा, रकम हिनामिना गर्ने, किर्ते कागजात बनाउने, र बहुबैंकिङ (Multiple Banking) को जोखिम सधैँ उच्च रहन्छ। तसर्थ, लघुवित्त संस्थाभित्र आर्थिक अनुशासन र पारदर्शिताको संस्कृति स्थापित गर्न एक सबल आन्तरिक नियन्त्रण प्रणाली अपरिहार्य बन्न पुगेको छ।

३. डिजिटलाइजेसनको भूमिका: आन्तरिक नियन्त्रणको आधुनिक हतियार:

वर्तमान समयमा आन्तरिक नियन्त्रणलाई विश्वसनीय बनाउने सबैभन्दा ठूलो माध्यम प्रविधि बनेको छ। आजकल प्रविधिको आत्मसात्करणले लघुवित्तको परम्परागत र जोखिमयुक्त कार्यशैलीलाई पूर्ण रूपमा रूपान्तरण गरिदिएको छ:

✅ तत्कालीन अनुगमन (Real-time Monitoring): आधुनिक कोर बैंकिङ प्रणाली (CBS) को माध्यमबाट फिल्डमा रहेका कर्मचारीहरूले गरेका हरेक आर्थिक गतिविधि र कर्जा प्रवाहको विवरण तत्कालै केन्द्रीय कार्यालयको प्रणालीमा डिजिटल रूपमा अभिलेख हुन्छ। यसले गर्दा कुनै पनि त्रुटि वा अनियमितता तत्कालै पहिचान गर्न सकिन्छ।

\✅ नगद सञ्चालन जोखिममा कमी (Reduction in cash handling risk): मोबाइल बैंकिङ, QR कोड, र डिजिटल वालेटको बढ्दो प्रयोगले फिल्ड कर्मचारीहरूले नगद बोकेर हिँड्नुपर्ने बाध्यता घटाएको छ। ग्राहकले सिधै डिजिटल माध्यमबाट किस्ता तिर्दा कर्मचारीबाट हुन सक्ने नगद हिनामिनाको जोखिम अन्त्य हुन्छ।

✅ प्रणालीगत प्रमाणीकरण (Systemic Verification): प्रविधिगत प्रणालीमा एउटै व्यक्तिले स्वीकृत गर्ने र रकम भुक्तानी गर्ने सुविधा हुँदैन। कर्मचारीहरूको स्पष्ट कार्य विभाजन (Segregation of Duties) लाई प्रणालीले नै अनिवार्य बनाउने हुँदा मानवीय त्रुटि र मिलेमतोमा हुने बदमासी स्वतः रोक्न सकिन्छ।

४. नेपाल राष्ट्र बैंक (NRB) को भूमिका: नियमन र अभिभावकत्व:

लघुवित्त क्षेत्रलाई सही दिशा र वित्तीय अनुशासन कायम राख्न नेपाल राष्ट्र बैंकको नियमनकारी भूमिका अत्यन्त सराहनीय र अभिभावकीय रहेको छ। राष्ट्र बैंकले जारी गरेका निर्देशनहरूले आन्तरिक नियन्त्रणलाई कानुनी र व्यावहारिक रूपमा थप कडा बनाएका छन:

✅ संस्थागत सुशासन र स्वतन्त्र लेखापरीक्षण: राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशिकाले हरेक लघुवित्तमा एक जना सञ्चालक रहने गरी एउटा स्वतन्त्र लेखापरीक्षण समिति र आन्तरिक लेखापरीक्षण विभागको गठन अनिवार्य गरेको छ, जसले व्यवस्थापनको दबाब बिना निष्पक्ष रूपमा कार्य गर्नु पर्दछ। तर अधिकांश संस्थाहरूमा आन्तरिक लेखापरीक्षण विभागले स्वतन्त्र रूपमा काम गरेको पाइँदैन।

✅ बहुबैंकिङ र अत्यधिक ऋणभार नियन्त्रण: केही वर्ष अघिसम्म एउटै ऋणीले धेरै लघुवित्तबाट ऋण लिई आफू र संस्थालाई समेत संकटमा पार्ने समस्या थियो। त्यही समस्यालाई समाधान गर्न राष्ट्र बैंकले कर्जा सूचना केन्द्र (CIC) को प्रयोग अनिवार्य गरी एकजना ऋणीले दुई भन्दा बढी लघुवित्तबाट कर्जा लिन नपाउने व्यवस्था करके कर्जा जोखिमको आन्तरिक नियन्त्रणलाई बलियो बनाएको छ।

✅ सघन सुपरीवेक्षण र कारबाही: नेपाल राष्ट्र बैंकले स्थलगत र गैर–स्थलगत सुपरीवेक्षणमार्फत लघुवित्तहरूको आन्तरिक नियन्त्रण प्रणालीको निरन्तर जाँच गर्दै आएको र नियम मिच्ने तथा अटेरी गर्ने संस्था तथा त्यसका पदाधिकारीहरूलाई नगद जरिवाना तथा सुशासन सम्बन्धी अन्य कारबाही गरेर वित्तीय अनुशासन कायम गर्ने गरेको छ।

५. सुशासित लघुवित्तका लागि अबको बाटो:

लघुवित्त संस्थाहरूले आफ्नो आन्तरिक नियन्त्रणलाई थप प्रभावकारी, प्रविधिमैत्री र जनमुखी बनाउन निम्नलिखित बुँदाहरूमा विशेष जोड दिनु अत्यावश्यक छ:

✅ कर्जाको सही सदुपयोगिता: आफूले प्रवाह गरेको कर्जा लक्षित व्यवसायमा लगानी भएको छ कि छैन भनेर फिल्ड तहबाटै नियमित भौतिक र डिजिटल प्रमाणीकरण गर्नु पर्दछ।

✅ कर्मचारीहरूको क्षमता र आचारसंहिता: आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई पालैपालो नियमित रूपमा वित्तीय अनुशासन, प्रविधिको सही प्रयोग र नैतिक तथा आर्थिक आचारसंहिता सम्बन्धी तालिम प्रदान गरी आफ्नो 'टार्गेट' पुरा गर्ने नाममा नियमसंगत प्रक्रिया मिच्ने प्रवृत्ति निरुत्साहित गर्नु पर्दछ।

✅ सम्पत्ति र दायित्वको सन्तुलन (ALM): संस्थामा नगदको संकट आउन नदिन आफ्नो निक्षेप संकलन र कर्जा प्रवाहबीच उचित वित्तीय सन्तुलन कायम राख्नु पर्दछ।

✅ ग्राहक गुनासो सुनुवाइ संयन्त्र: सदस्यहरूका पिरमर्का र गुनासाहरू सिधै उच्च व्यवस्थापनसम्म पुग्ने पारदर्शी संयन्त्र बनाउनु पर्दछ, जसले गर्दा फिल्डमा सदस्यहरू वा कर्मचारी माथि हुने थिचोमिचो वा अनियमितता समयमै उजागर हुन सकोस।

६. निष्कर्ष:

लघुवित्त संस्थाहरू आफैँमा अत्यधिक नाफा कमाउने व्यापारिक निकाय होइनन्, यिनीहरू त सामाजिक रूपान्तरण र आर्थिक समावेशीकरणका संवाहक हुन्। नेपालको लघुवित्त क्षेत्रलाई बचाइराख्न, यसको दिगो विकास गर्न र हाल समाजमा गुमेको साख फिर्ता ल्याउन स्वनियमनमा रहनु, प्रविधिमैत्री आन्तरिक नियन्त्रण प्रणाली र राष्ट्र बैंकको नियमनको पूर्ण पालना नै एकमात्र विकल्प हो।

प्रविधिको प्रयोग र केन्द्रीय बैंकको कडा अनुशासनको सुन्दर सम्मिश्रणबाट मात्र लघुवित्तहरूले आफ्नो सञ्चालन जोखिम न्यूनीकरण गर्दै ग्रामीण क्षेत्रको आर्थिक रूपान्तरणमा 'विपन्नको सच्चा साथी' बन्ने आफ्नो वास्तविक पहिचानलाई सधैँ अक्षुण्ण राख्न सक्नेछन।

Comments

Popular posts from this blog

🚨 संकटको भुमरीमा HR म्यानेजर: लघुवित्तमा कर्मचारीको हाहाकार,

💔 झोलासँगै खसेका आँसु: लघुवित्तका 'रोबोट' कर्मचारी र सञ्चालकले बुझ्नुपर्ने सत्य:

लघुवित्तमा आन्तरिक लेखापरीक्षण: दबाब र चुनौती,